खेलकुद

पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरको सामना गर्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । 

यस खेलको विजेता सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम लिग चरणका ७ मध्ये ६ खेल जित्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा प्रवेश गरेको थियो । 

जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ । सुदूरपश्चिमको सबै पक्ष सन्तुलित देखिँदा सुरुवाती चार खेलपछि लय गुमाएको भए पनि जनकपुरको टिम बलियो नै देखिएको छ । तर, कप्तान तथा ओपनर अनिल साह चोटग्रस्त बनेपछि जनकपुरलाई ठूलो झट्का लागेको छ । 

औंलामा लागेको चोटका कारण अनिलले प्रतियोगिता गुमाउने सम्भावना छ । अनिलको अनुपस्थितिमा आसिफ शेखले टिमको कप्तानी सम्हाल्ने छन् ।

लिग चरणमा सुरुआतमा लगातार चार खेल जितेको जनकपुरको अपराजित यात्रालाई सुदूरपश्चिमले ब्रेक लगाइदिएको थियो । सो खेलमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अलआउट भएको थियो । जुन एनपीएलको हालसम्मकै न्यून स्कोर हो । 

सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा राम्रो देखिएको छ । विनोद भण्डारी र सैफ जैबले राम्रो सुरुआत गर्दै आएका छन् । ब्रान्डन मक्मलेनले अल राउन्ड प्रदर्शन गर्दा मध्यक्रममा ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गर्दै आएका छन् । 

यता, जनकपुर लिग चरणमा सुदूरपश्चिमसँगको खेलमा गरेको गल्ती सुधार्दै फाइनलमा स्थान बनाउन लक्ष्यमा छ । बलिङमा ललित राजवंशीले शानदार प्रदर्शन गरिरहेका छन् । किशोर महतो, हर्ष ठाकरबाट पनि उस्तै प्रदर्शनको आश गरिएको छ । ब्याटिङमा आसिफ शेख, जिम्मी नीशम, लाहिरु मिलान्थाको साथ रहेको छ ।