खेलकुद

जनकपुरले एनपीएलको दोस्रो क्वालिफायरमा कर्णालीसँग प्रतिस्पर्धा गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि हुने जनकपुर र कर्णालीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । 

उपाधि यात्रा तय गर्न दुबै टोलीको लागि आजको खेल महत्वपूर्ण छ । लिग चारणका ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिमले दमदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । 

सुदूरपश्चिमले अब कर्णाली याक्स र जनकपुरबीच हुने दोस्रो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ । पहिलो क्वालिफायरमा सुुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । 

सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ । कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर–टू मा स्थान सुरक्षित गरेको हो ।

जनकपुरका नियमित कप्तान तथा ओपनर अनिल साह अहिले चोटग्रस्त छन् । औंलामा लागेको चोटका कारण हिजोको खेल गुमाएका अनिल आज पनि उपलब्ध हुने छैनन् । उनको स्थानमा आसिफ शेखले टिमको कप्तानी गर्नेछन् । 

जनकपुरले बलिङमा राम्रो प्रदर्शन गरिरहेको छ । ललित राजवंशी, जिम्मी निशम, किशोर महतो, हर्श थाकर, मोहम्मद मोहसिन लगायतले उत्कृष्ट बलिङ गरिरहेका छन् । ब्याटिङमा भने अपेक्षाकृत प्रदर्शन देखिएको छैन ।

यता, लिगको अन्तिम खेलमा पराजित भए पनि एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले कर्णाली लयमा छ । उसका लागि विलियम बोसिस्टो, चाडविक वाल्टन, जयकसिन कोल्सावालाले राम्रो ब्याटिङ गरेका छन् । 

बलिङमा कप्तान सोमपाल कामी, नन्दन यादव र युवा स्पीनर विपिन शर्माले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । ब्याटिङमा भने अपेक्षा अनुसार नेपाली खेलाडीले प्रदर्शन देखाउन सकेका छैन ।