एनपीएलको उपाधि लागि सुदूरपश्चिमले जनकपुरको सामना गर्दै
- काठमाडौंपहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको उपाधि लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ । यी दुई टोलीलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुदूरपश्चिम र जनकपुरबीचको फाइनल खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । आजको खेलपछि एनपीएलको ऐतिहासिक प्रथम संस्करणको विजेताको टुङ्गो लाग्नेछ । नेपाली घरेलु क्रिकेट इतिहासमै यो अहिलेसम्मकै ठूलो खेल पनि हो ।
सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । सुदूरपश्चिमले लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्दा जनकपुरलाई ८ विकेटले पराजित गरेर फाइनल पुगेको हो । यसअघि लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो ।
जनकपुरले भने कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । आठ टिम सहभागी एनपीएलको लिग चरण सकिँदा सुदूरपश्चिम र जनकपुर नै शीर्ष दुई स्थानमा थिए ।
जनकपुर सुरुवाती केही चरणका खेलपछि पहिलो स्थानमा थियो । पछि उसलाई सुदूरपश्चिमले उछिनेको हो । मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा उत्रेको सुदूरपश्चिमले लिग चरणमा एउटा खेल मात्र गुमाएको थियो ।
लिग चरणमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो । आसिफ शेख मार्की र अनिल शाह कप्तान रहेको जनकपुरले लिग चरणका ७ मध्ये ५ खेल जितेको थियो ।
फाइनलको पूर्वसन्ध्यामा मिडियासँग दुबै टोलीका कप्तान संयमित देखिए । सुदूरपश्चिमका ऐरीले जनकपुरलाई कुनै पनि हालतमा सहज नलिने बताएका थिए । जनकपुरका नियमित कप्तान अनिल साह घाइते भएपछि कप्तानी सम्हालेका आसिफले पनि फाइनलमा विगत बिर्सेर उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिए ।
यसैबीच, एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पाउने छन् । नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । नेपाल क्रिकेट संघ क्यानका अनुसार उपविजेता हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै तेस्रो स्थान हासिल गर्नेले २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामै उत्कृष्ट हुने नेपाली खेलाडी को हुनेछन् भन्ने जिज्ञासा पनि व्यापक छ । किनभने उत्कृष्ट एक खेलाडीले कार पुरस्कार जित्नेछन् । यस पुरस्कारका प्रमुख प्रत्याशीले नै फाइनल खेल्ने हुँदा सबैको ध्यान व्यक्तिगत प्रदर्शनमा पनि जानेछ ।
एनपीएलमा दर्शकको ‘क्रेज’ कस्तो छ भने फाइनल खेलका लागि बिहीबार अनलाइनमा टिकट बिक्री खुलाएको केही बेरमै सबै ‘सोल्ड आउट’ भएको थियो । यसअघि उद्घाटन खेलका लागि पनि तीन दिनअघि नै सबै टिकट बिक्री भएको थियो । यसबीचका खेलमा पनि त्रिवि क्रिकेट मैदानमा दर्शकको ठूलो संख्यामा उपस्थिति रह्यो ।