खेलकुद

११ औं संस्करणको फाल्गुनन्द गोल्डकप आजदेखि

- रेडियो कान्तिपुर संवाददातापाँचथर

पाँचथरको फिदिममा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै खेल फिदिम बजारस्थित फिदिम माविको मैदानमा हुनेछ । 

यही पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशी, ए डिभिजनका ४ र मोफसलका सहित १० क्लबको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताउनुभयो । 

प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब सहित, त्रिभुवन आर्मी, न्यूरोड टीम एनआरटी, चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, विराटनगर सिटी, झापा–११, सुनसरीको न्यू स्टार, सिरहाको सल्हेस युवा क्लब र भारतको करसाङ फुटबल क्लबको सहभागिता रहनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ ।

दोस्रो खेल पुस ७ गते मछिन्द्र फुटबल क्लब काठमाडौं र झापा-११ झापा, पुस ८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र उद्घाटन खेलको विजयी टिमबीच हुने तालिका छ । यस्तै पुस ९ गते, पुस ७ गते हुने खेलका विजेतासँग न्यूस्टार सुनसरीले प्रतिस्पर्धा गर्नेछ ।

पुस १० गते हुने तेस्रो क्वाटरफाइनलमा चर्च ब्बाइज युनाइटेड काठमाडौं र विराटनगर फुटबल क्लब तथा ११ गते अन्तिम क्वाटरफाइनलमा एनआरटी काठमाडौं र सहलेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । पुस १२ गते पहिलो र १३ गते दोस्रो सेमिफाइनल सम्पन्न गरेर १५ गते फाइनल खेल हुनेछ । 

जिल्लाको सर्वाधिक पुरस्कार राशि रहेको फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । 

सर्वाधिक गोलकर्तालाई १५ हजार र विभिन्न विधाका उत्कृष्टलाई १० हजारका दरले पुरष्कृत गरिने आयोजक क्लबले जानकारी दिएको छ । नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरु फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म आयोजना भएर स्थगित भएको थियो । 

प्रतियोगितालाई यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको हो । मैदानमा चार हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरेको छ भने पक्की प्याराफिटमा थप २ हजार गरी ६ हजार दर्शक बस्ने क्षमता रहेको आयोजकले जानकारी दिएको छ ।