खेलकुद

एटलेटिको म्याड्रिडसँग बार्सिलोना पराजित

- रेडियो कान्तिपुर संवाददाता

वैकल्पिक खेलाडी एलेक्जान्डर सोरलोथको निर्णायक गोलमा एटलेटिको म्याड्रिडले स्पेनीस ला लिगा फुटबलमा बार्सिलोनालाई पराजित गरेको छ । एटलेटिको म्याड्रिडले गएराति भएको खेलमा बार्सिलोनालाई उसैको मैदान स्टाडि ओलम्पिकमा २–१ गोलले हराएको हो । 

बार्सिलोना घररेलु मैदानमा भएको लिगका पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ । बार्सिलोनाले ३० औं मिनेटमा पेड्रिको गोलले अग्रता लिएको थियो । 

रोड्रिगो डे पउलले ६० औं मिनेटमा एटलेटिकोका लागि बराबरी गोल फर्काए । त्यसपछि अतिरिक्त समयको छैटौं मिनेटमा एलेक्जान्डर सोरलोथले निर्णायक गोल गरेका हुन् ।

यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । एटलेटिकोको १८ खेलबाट ४१ अंक भएको छ । १९ खेल खेलेको बार्सिलोनाले भने ३८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रह्यो । 

लिगको अन्य खेलमा एथलेटिको बिलबाओले ओसासुनालाई २–१, सेल्टा भिगोले रियल सोसिडाडलाई २–० र रियल मार्लोकाले गेटाफेलाई १–० गोलले पराजित गरेको छ ।