सेनाका करण रावललाई कोल्मा क्रसकन्ट्रीको उपाधि
- स्याङ्जाकोल्मा क्रसकन्ट्रीको उपाधि नेपाली सेनाका धावक करण रावलले हात पारेका छन् । सोमबार स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्मामा भएको पाँचौं संस्करणको क्रसकन्ट्रीमा रावलले २५ किलोमिटरको दूरी एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् ।
उनले उपाधिसँगै ५० हजार रुपैयाँ हात पारे । सेनाकै टंकबहादुर कार्की दोस्रो तथा रमेश लिम्बू तेस्रो भए । कार्की निर्धारित दूरी १ घण्टा ३२ मिनेट ९ सेकेन्ड, लिम्बूले १ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गरेका हुन् ।
कार्कीले ४० हजार रुपैयाँ र लिम्बुले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । रुकुमका दुर्गाराज बुढाले १ घण्टा ३८ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्दै चौंथो स्थान हासिल गरे । दौड कोल्मा बराहचौरबाट सुरु भई सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुनः बराहचौरमा आएर टुंगिएको थियो ।
यसैगरी, २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा सनम गुरुङ विजेता बने । उनले ४६ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरेका हुन् । पदमबहादुर मानन्धर उपविजेता र रुद्र बुढाथोकी तेस्रो भए ।
उनीहरुले क्रमशः ४९ मिनेट ३५ सेकेन्ड र ५० मिनेट १४ सेकेन्डमा पूरा गरेको आयोजक संस्था सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चका महासचिव जीवन पोखरेलले जानकारी दिनुभयो । २१ वर्षमुनिको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडको उपाधि रविना बुढामगरले जितिन् । उनले निर्धारित दूरी १ घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गरिन् । विमला मानन्धरले १ घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो स्थान हासिल गरिन् ।
बुढामगरले १५ हजार र मानन्धरले १० हजार रुपैयाँ हात पारेकी छन् । विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान हासिल गरेको छ । रिले दौडको विजेताले १२ हजार, ८ हजार र ४ हजार रुपैयाँ जितेका छन् ।