एनआरटीले सहलेश युवा क्लबसँग प्रतिस्पर्धा गर्दै
- पाँचथरपाँचथरमा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज काठमाडौंको न्यूरोड टीम एनआरटी र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फिदिम बजारस्थित फिदिम माविको मैदानमा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
आजको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । त्यसैले दुबै टोली अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । प्रतियोगितामा सहभागी मध्ये आयोजक फिदिम स्पोर्टिङ क्लबसहित चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबले फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
हिजो भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीलाई ७–१ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
यसअघि आयोजक फिदिम स्पोर्टिङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । मच्छिन्द्र फुटबल क्लबले भने सुनसरीको न्यु स्टार फुटबल क्लबलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
सेमिफाइनलको खेल भोलिबाट सुरु हुनेछ । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको फाइनल खेल हुने आगामी सोमबार हुनेछ । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।