प्रो सञ्जयको टिमलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि
- धरानप्रो सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टूर अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो सञ्जयको टिमले १६७ अंक सहित उपाधि जितेको हो ।
प्रो सञ्जयले ४१ तथा एमेच्योर भुवनेश लिम्बुले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बुले ४१ अंक बनाए । नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंक सहित दोस्रो भयो । भुवनले ३९ अंक बनाउँदा एमेच्योर एसएसपी भीम दाहाल, पूर्ण बहादुर राई र बल बहादुर राईले समान ४०/४० अंक बनाए ।
प्रो निरज तामाङको टिम १५५ अंक सहित तेस्रो भए । निरजले ३८ अंक जोडे । एमेच्योर दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९/३९ अंक जोडे । महिलातर्फ ४२ अंक जोडेर बिना सापकोटा उत्कृष्ट खेलाडीको घोषित भईन् ।
प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लङ्गेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टू दी पिनको अवार्ड जिते । प्रो–एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कूल ६० खेलाडीले भाग लिएका थिए ।
प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गरे ।
हिजो सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनमा निरज तामाङले १७–अन्डर १९३ सहित उपाधि जितेका थिए । उनले शुक्र बहादुर राईको कुल तर्फको रेकर्ड स्कोर बराबरी गर्दै करियरको दोस्रो उपाधि जितेका हुन् । निरजले पहिलो दिन ८–अन्डर ६२ खेल्दै नयाँ कोर्स रेकर्ड बनाए ।
विष्णु प्रसाद शर्मा ७–अन्डर २०३ स्कोर सहित दोस्रो तथा बलभद्र राई ३–अन्डर २०७ सहित तेस्रो भए । प्रतियोगिताको कूल पुरस्कार राशि ८ लाख ८२ हजार रहेको थियो । सूर्य नेपाल गल्फ टूर २०२४–२५ अन्तर्गत चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन महिना पोखरास्थित हिमालयन गल्फ कोर्समा आयोजना हुनेछ ।