त्रिवेणी कपको उपाधिका लागि एपीएफले बीवाईसीको सामना गर्ने
- लमजुङलमजुङमा जारी ३२ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ । त्रिवेणी कप फुटबलको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लमजुङको बुद्ध युवा क्लब (बीवाईसी) को सामना गर्नेछ ।
बेंसीसहरस्थित त्रिवेणी रंगशालामा हुने उपाधि भिडन्त दिउँसो एक बजेपछि सुरु हुनेछ । पहिलो पटक त्रिवेणी कपमा सहभागिता जनाएको एपीएफ च्याम्पियन बन्ने लक्ष्यमा छ । बीवाईसी पनि विभागीय टोलीको चुनौती पन्छ्याउँदै उपाधि रक्षा गर्ने योजनामा हुनेछ । बीवाईसी ३ पटकको त्रिवेणी कप फुटबलको च्याम्पियन टोली हो ।
यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले आयोजक त्रिवेणी युवा क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । केही महिनाअघि नवलपुरमा सम्पन्न सातौं राइनो गोल्ड कप उचालेको एपीएफ त्रिवेणी कपको ३२ औं संस्करणको खेलमा फाइनल प्रवेश गरेको हो ।
आयोजकविरुद्ध एपीएफका कप्तान हरि कार्कीले खेलको २० औं मिनेटमा गोल गरेका थिए । त्रिवेणीका सुनिल खड्काले २२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ४३ औं मिनेटमा एपीएफका प्रदीप लामाले गरेको गोल निर्णायक बन्यो । प्रदीपको गोल संख्या ६ पुगेको छ । उनी म्याद अफ द म्याच भए ।
हिजो नै भएको दोस्रो सेमिफाइनलमा बीवाईसीले काठमाडौंको टोखा भगवती क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निकै रोमाञ्चक बनेको दोस्रो खेलमा बुद्ध युवा क्लबले टोखा भगवतीलाई सडनडेथमा हरायो ।
निर्धारित अवधिभर कुनै गोल हुन सकेन । टाइब्रेकरमा ४–४ गोल भएपछि सडेन डेथमा बुद्ध युवाले सफलता पायो । सडेन डेथमा टोखाका समीर तामाङको प्रहार बीवाईसीका गोलरक्षक कृशल मोक्तानले रोकेका थिए । बीवाईसीका राजेन्द्र गैरेले निर्णायक गोल गरे । बीवाईसका गोलरक्षक कृशल मोक्तान म्यान अफ द म्याच भए ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सेमिफाइनलमा पराजित २ टिमलाई २÷२ लाख रुपैयाँ प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यही पुस १२ गतेदेखि सुरु भएको त्रिवेणी कप फुटबल प्रतियोगितामा १६ टिमले सहभागीता जनाएका थिए ।