बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा
- काठमाडौंएथलेटिक क्लबलाई पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोट्र्स सिटीमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा एथलेटिक बिलबाओलाई २–० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि यात्रा तय गरेको हो ।
बार्सिलोनाको जितमा युवा खेलाडी गाभी र लामिन यमालले एक–एक गोल गरे । गाभीले खेलको १७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलेजान्ड्रो बाल्डेको पासमा गाभीले गोल गरेका थिए ।
खेलको ५२ औं मिनेटमा यमालले गोल गर्दै बर्सिलोनाको अग्रता दोब्बर पारे । ओस्कर डे मार्कोसले खेलको ८२ औं मिनेटमा बिलबाओको लागि गोल फर्काएको सोचेका थिए । तर, अफसाइडका कारण त्यो गोल रद्द भयो ।
अब अर्को सेमिफाइनलमा युरोपेली च्याम्पियन रियल म्याड्रिडले रियल मार्लोकाको सामना गर्नेछ । दोस्रो सेमिफाइनल नेपाली समय अनुसार आज राति एक बजे सुरु हुनेछ ।
बार्सिलोनाले अब उपाधिका लागि आज राति हुने रियल म्याड्रिड र मालोर्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पछिल्ला केही वर्षयता यो प्रतियोगिता साउदी अरेबियामा आयोजना हुँदै आएको छ । स्पेनिस सुपर कप फुटबलको फाइनल सोमबार हुनेछ ।