खेलकुद

आईसीसी यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

- केएफएम डेस्ककाठमाडौं

मलेसियामा अर्को साताबाट सुरु हुने आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली युवा टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौंमा एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो । युवा टोली विश्वकप खेल्न भोली मलेसिया जाँदैछ ।

क्यानले यसअघि नै पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको आयोजनामा हुने यु–१९ महिला विश्व कप माघ ५ गते देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

विश्वकपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोलीको सहभागिता रहनेछ । कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो । एसिया छनोटको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनोट भएको हो । विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छ ।

नेपालले पहिलो खेल माघ ५ मा बंगलादेशविरुद्ध खेल्दा, दोस्रो खेल माघ ७ मा स्कटल्याण्डसँग खेल्नेछ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल माघ ९ मा अस्ट्रेलियासँग खेल्नेछ । समूह चरणको खेलमा शीर्ष ३ मा रहन सके नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ । सुपर सिक्सका दुई समूह हुनेछन् । सुपर सिक्सका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।