खेलकुद

नेपाली यू-१९ महिला टोली विश्वकप खेल्न मलेसिया प्रस्थान गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज मलेसिया प्रस्थान गर्दैछ । मलेसियामा आगामी माघ ५ गतेबाट सुरु हुने यू–१९ महिला टी–२० विश्वकप खेल्न जाने टोलीलाई हिजो नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । 

चितवन र मूलपानी क्रिकेट मैदानमा झन्डै तीन साताको प्रशिक्षणपछि नेपाली यू–१९ महिला टिम आज दिउँसो मलेसिया जान लागेको हो । विश्वकपका लागि क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । 

टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ । माघ २० सम्म सञ्चालन हुने विश्वकपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोलीले सहभागिता रहनेछ । त्यसअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग यू–१९ को विश्वकप अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । 

प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागिता हो । एसिया छनोटको खेलमा यूएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको थियो । कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो ।

सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष ३ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । सुपर सिक्समा ६–६ टोलीको दुई समूह हुनेछ । त्यसबाट शीर्ष चार टोली सेमिफाइनल पुग्नेछ । नेपालले समूह ‘डी’मा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग खेल्नेछ । 

माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्वकपमा डेब्यु गर्नेछ । नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियाको सामना गर्नेछ । 

विश्वकपको समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । 

को-को छन् नेपाली टोलीमा ?

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीन, ज्योत्सनिका मरासिनी, कुसुम कोदार, अलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना बिक, किरनकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचनाकुमारी चौधरी, स्नेहा महरा, अनु कडायत, महेशप्रसाद रिजाल (प्रमुख प्रशिक्षक), वीरेन्द्र शाह (सहायक प्रशिक्षक), मोनिका (स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षक), नेहा साह (फिजियो), रमन शिवाकोटी (भिडियो एनालिस्ट), जयन्तीदेवी भट्ट (व्यवस्थापक) ।