खेलकुद

नेपाल अभ्यास खेलमा पराजित

- केएफएम डेस्ककाठमाडौं

आईसीसी यू–१९ महिला टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।

आज मलेसियामा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा अलआउट भयो । 

नेपालका लागि सीमाना केसीले २३ रन बनाउँदा किरण कुँवर र कप्तान पूजा महतोले १८–१८ रन बनाए ।

वेस्ट इन्डिजका त्रिसा हर्दात, विक्स र जिल्लवर्टले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान समरा रामनाथले २५ रन बनाइन् । 

नेपालका सीमाना केसी र रचना चौधरीले एक एक विकेट लिए । 

अब नेपालले दोस्रो ओभ्यास खेलमा माघ २ गते अमेरिकासँग खेल्नेछ ।