आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो
- काठमाडौंआर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराति भएको खेलमा टोटनह्यामलाई २–१ गोलले पराजित गर्दै आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको हो ।
यो जितसँगै आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी चार अंकले घटाएको छ । उसको २१ खेलबाट ४३ अंक भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले २० खेलबाट ४७ अंक जोडेको छ । नटिङ्घम फरेस्ट भने तेस्रो स्थानमा झरेको छ ।
खेलको २५ औं मिनेटमा सन ह्युङ–मिनको गोल मार्फत टोटनह्यामले अग्रता लिएको थियो । तर, डोमिनिक सोलान्केले खेलको ४० औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । त्यसको चार मिनेटपछि लियान्ड्रो ट्रोसार्डले गरेको गोल आर्सनलको जितका लागि पर्याप्त बन्यो ।
अग्रता जोगाउन नसक्नु र आत्मघाती गोल गर्नु टोटनह्यामको हारको कारण बन्यो । यो हारसँगै २१ मध्ये ७ खेलमा मात्र जित हात पारेको टोटनह्याम २४ अंकका साथ तालिकाको १३ औं स्थानमा रह्यो ।
यस्तै, लिगको अर्को खेलमा न्युकासल युनाइटेडले उल्भसलाई पराजित गरेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा लयमा रहेको न्युकासल युनाइटेडले उल्भसलाई सजिलै ३–० गोलले हराएको हो ।
न्युकासलको जितमा एलेक्जान्डर इसाकले दुई गोल गरे । यो जितसँगै न्युकासल ३८ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लेको छ । यस्तै क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २–० गोलले हरायो । लिगमा लगातार छैटौं हारले लेस्टरमाथि रेलिगेसन दबाब बढेको छ ।