खेलकुद

चेल्सी प्रिमियर लिगको चौंथो स्थानमा उक्लियो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

उल्भ्सलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको चौंथो स्थानमा उक्लेको छ । स्टामफोर्ड ब्रिज स्टेडियममा गएराति भएको खेलमा चेल्सीले पाहुना टोली उल्भ्सलाई ३–१ गोलले पराजित गर्दै अंक तालिकाको चौंथो स्थानमा उक्लिएको हो । 

घरेलु टोलीले खेलको २४ औं मिनेटमा टोसिन अदाराबियोको गोलबाट अग्रता लिएको थियो । उल्भ्सका लागि खेलको ५० औं मिनेटमा म्याट डोहर्टीले बराबरी गोल फर्काए । 

दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै चेल्सीले लिगमा पाँच खेलको जितविहीन यात्रा अन्त्य गरेको हो । खेलको ६० औं मिनेटमा मार्क कुकुरेला र ६५ औं मिनेटमा नोनी माडुकेले गोल गर्दै चेल्सीलाई जित दिलाए । 

यो जितसँगै चेल्सीको २२ खेलबाट ४० अंक भएको छ । म्यानचेस्टर सिटी र न्यूक्यासल युनाइटेड भन्दा दुई अंकले अगाडि छ । समान २२ खेल खेलेको उल्भ्स १६ अंकका साथ तालिकाको १७ औं स्थानमा रह्यो । उल्भ्स गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रभन्दा बाहिर रहेको छ ।