खेलकुद

कोशी प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहान ९ बजे हुने भनिएको खेल अझै सुरु हुन सकेको छैन । 

समूह ‘बी’मा रहेको आर्मी आज दोस्रो जितको खोजीमा हुँदा कोशी भने तेस्रो जित निकाल्नले लक्ष्यमा छ । कोशीले आफ्नो पहिलो खेलमा मधेश र दोस्रो खेलमा बाग्मती प्रदेशलाई हराएको थियो । 

यता आफ्नो पहिलो खेलमा मधेश प्रदेशलाई १० विकेटले हराएको आर्मी दोस्रो खेलमा भने बाग्मती प्रदेशसँग पराजित भएको थियो । लगातार दुई खेल जित्दै ४ अंकका साथ कोशी प्रदेश समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । आर्मी २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै, आजै हुने समूह ‘बी’को दोस्रो खेलमा बाग्मतीले मधेश प्रदेशको सामना गर्नेछ । फाप्ला क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । 

मधेश यसअघिका दुबै खेलमा पराजित हुँदै अंकविहीन भएर समूहको पुछारमा छ । एक खेल जितेको बाग्मती तालिकाको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ बाट भने एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश प्रतियोगिताको सुपर फोरमा पुगिसकेका छन् ।