खेलकुद

टाइगर कप भलिबल माघ १२ देखि, १२ टोली प्रतिस्पर्धी

- रेडियो कान्तिपुर संवाददातापोखरा

एनसेल पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुई विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । माघ १२ देखि १९ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गर्ने भएको हो । 

प्रतियोगितामा दुई विदेशीसहित महिला र पुरुषतर्फ ६–६ टोलीले भाग लिनेछन् । यो संस्करणमा विदेशी टोलीको रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम प्रतिस्पर्धा हुनेछन् । 

पुरुषतर्फ नेपालका हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले भाग लिनेछन् ।

महिलातर्फ एपीएफ क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी, पुलिस क्लब र टाइगर ग्रुप अफ पोखराले भाग लिनेछन् । यसपल्ट आयोजकले छुट्टै महिला टिम सहभागी गराएको हो । गण्डकी र आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने संयोजक रामकृष्ण ज्ञवालीले जानकारी गराए ।

पुरुष र महिला विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।