सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
- पोखरासूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन निरज तामाङ दुई स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा रहेका छन् ।
पोखराको हिमालयन गल्फ कोर्समा ४–अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । धन बहादुर थापा र सञ्जय लामाले १–अन्डर ६८ मा पहिलो दिनको खेल सकाए । उनीहरु संयुक्त रुपमा चौथो स्थानमा रहे । रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे । उनीहरुले बुधबार इभन–पार ६९ मा खेल सकाए ।
प्रदीप कुमार लामा रएमेच्योर सुन्दर राईले १–ओभर ७० मा खेल पुरा गर्दै संयुक्त रुपमा आठौं स्थानमा रहेका छन् । यस्तै, विष्णु प्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १० औं स्थानमा रहे । उनीहरुले २–ओभर ७१ खेले । सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन जितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे । उनले बोगी रहित फ्रन्ट नाइन खेले ।
तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि १५ औं होलमा एक सट खेर फाले पनि १० औं, १३ औं र १६ औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३३ मा सकाए । धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १–अन्डर ३३ को प्रदर्शन गरे ।
दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामा सुरुवात राम्रो गरे । तर पाँचौं होलमा डबल बोगी खेप्दा सातौं होलमा बोगीको सामना गरे । यसपछि आठौं र नवौं होलमा एक–एक सट बचाए । ब्याक नाइन उनले १–अन्डर ३४ मा सकाए । १३ औं देखि १५ औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे तर १० औं र १८ औ होलमा एक–एक सट खेर फाले ।
भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि ११ औं होलमा डबल बोगी खेपे । १६ औं र १७ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३५ मा पुरा गरे । एमेच्योरतर्फ सुन्दर राई १–ओभर ७० सहित शीर्ष स्थानमा रहेका छन् । उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे ।
सुरेशले पहिलो दिन २–ओभर ७१ स्कोर गरे । ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ ।
विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरले पनि नगद हात पार्नेछन । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लिद्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागू हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।