सुदूरपश्चिम र एपीएफ महिला क्रिकेटको फाइनलमा
- धनगढीप्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच उपाधि भिडन्त हुने भएको छ । सुपर फोर अन्तर्गत शुक्रबार भएका खेलमा जित निकाल्दै दुबै टोली फाइनलमा पुगेका छन् ।
सुपर फोरमा अपराजित रहेको एपीएफ चार अंकसहित फाइनल पुगेको हो । एक खेलमा जित र एकमा पराजित भएको सुदूरपश्चिम दुई अंकसहित उपाधि नजिक पुगेको हो । समान दुई अंक नै भएका बागमती र विभागीय टोली त्रिभुवन आर्मी क्लब भने रनरेट कमजोर हुँदा फाइनल पुग्न सकेनन् ।
शुक्रबार भएको पहिलो खेलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गरेको छ । धनगढीको फाप्ला मैदानमा ११६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रन मात्रै बनाउनसक्यो । उसका लागि राधिका पुजाराले १७ तथा कप्तान लक्ष्मी साउँदले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका रेखा रावलले ४ विकेट लिइन् । सवनम राईले २ तथा कप्तान इन्दु बर्माले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले प्रतिकूल मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि राजमती ऐरली ३५ रन बनाइन् । कविता जोशीले ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे ।
आर्मीका सुस्मिता भुषालले २ तथा इश्वरी बिष्टले १ विकेट लिए । शुक्रबार नै भएको सुपर फोरको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेश बागमतीलाई ३० रनले पराजित गर्दै फाइनलमा पुगेको हो । ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । उसका लागि यसोदा बिष्टले ३० तथा हेलिसा गुरुङले २३ रन बनाइन् ।
सुदूरपश्चिमका कविता कुँवर र करिस्मा थापाले २/२ तथा आषिका महरा र रितु कनौजियाले १/१ विकेट लिए । त्यसअघि टस जितेर फाप्ला मैदानमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि रितु कनौजियाले ३४, मनिषा बोहराले १६ र कविता कुँवरले १३ रन बनाए । बागमतीका मनिषा उपाध्याय र सोनु खड्काले ३/३ तथा विपिशा शाहीले १ विकेट लिए । एपीएफ र सुदूरपश्चिमबीच फाइनल खेल शनिबार फाप्ला मैदानमा हुनेछ ।