खेलकुद

एन्फा महिला लिगः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

- केएफएम डेस्ककाठमाडौं

अखिल नेपाल फुटबल संघको आयोजनामा जारी एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको विभागीय टोली नेपाल एपीएफ क्लब फाइनलमा पुगेको छ । 

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोत अन्तरले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।

 खेलको आठौं मिनेटमा हिमा चौधरीले गरेको गोलमार्फत त्रिभुवन आर्मीले अग्रता लिएपनि जोगाउन नसक्दा पराजित भएको हो । १–० गोल अन्तरको स्थितीमा पहिलो हाफ सकिएको खेलको दोस्रो हाफमा एपीएफले पुनरागमन गर्दै उपाधि यात्रा तय गरेको हो । 

७८ औं मिनेट एपीएफका लागि रश्मिकुमारी घिसिङले गोल गर्दै आर्मीको अग्रता बराबरी गरिन् । पुनः खेलको ८८ औं मिनेटमा रश्मिले प्रिति राइको पासमा निर्णायक एवं व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई जित दिलाएकी हुन् । माघ १६ हुने फाइनलका लागि आर्को टोलीको टुङ्गो लाग्न बाँकी छ ।