अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि
- धनगढीकैलालीको धनगढीमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका सबै खेल धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । लिग कम नकाउटका आधारमा आयोजना हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा डीसीए धनगढी, डडेलधुराको फ्रेण्ड्स युथ क्लब, घोडाघोडी–११ सुख्खड र झापाको बोष्टन क्रिकेट तथा समूह ‘बी’मा सीवाईसी अत्तरिया, काठमाडौं क्रिकेट एक्सिलेन्स सेन्टर, न्यू होराईजन बुटवल र बैतडीको दशरथ चन्द एकेडेमी रहेका छन् । शनिबार हुने उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन् ।
डीसीए धनगढी र डडेल्धुराको फेण्ड्स क्लबबीचको प्रतिस्पर्धा मध्याह्न सवा १२ बजे सुरु हुनेछ । स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।
धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायत खेलाडी मैदान उत्रने छन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायत खेलाडीले खेल्नेछन् ।
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् ।
प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख रुपैयाँ पुरस्कार दिने भएको हो ।
साथै अन्य क्याचमा पनि नगद पुरस्कार प्रदान गर्ने ब्रेड बक्सले जनाएको छ । प्रतियोगितामा दर्शकलाई सहज बनाउन धनगढी उपमहानगरपालिकाले धनगढीदेखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म नगर बस सेवा सञ्चालन गर्ने भएको छ ।
नगर बसले धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा प्रत्येक २० मिनेटमा नगर बस सञ्चानल गर्ने जनाएको हो ।