प्रिमियर लिगमा आर्सनलसँग सिटी स्तब्ध
- काठमाडौंआर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा आर्सनलले पाहुना टोली सिटीलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
यो जितसँगै आर्सनललले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी छ अंकले घटाएको छ । लिग लिडर लिभरपुलको २३ खेलबाट ५६ अंक छ । एक खेल बढी खेलेको आर्सनल ५० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
घरेलु टोलीले खेलको दोस्रो मिनेटमै कप्तान मार्टिन ओडेगार्डको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप चार गोल गर्यो ।
आर्सनलको जितमा थोमस पार्टी, मेयलेस लेविस–स्केली, काइ हार्भटेज र १७ वर्षीय इथान न्वानेरीले समान एक–एक गोल गरे । यो हारसँगै सिटी २४ खेलबाट ४१ अंकका साथ तालिकाको चौंथो स्थानमा रह्यो ।
यस्तै, लिगको अन्य खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २–० गोलले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेड भने त्यति भाग्यमान रहेन् । युनाइटेडलाई ओल्ड ट्रायफोर्डमै क्रिस्टल प्यालेसले २–० ले पराजित गर्यो ।