खेलकुद

भुटानको आरटीसीले जागृति क्लबसँग प्रतिस्पर्धा गर्ने

- रेडियो कान्तिपुर संवाददाताधरान

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा इटहरीको राष्ट्रिय जागृतिले भुटानको आरटीसी फुटबल क्लबको सामना गर्ने भएको छ । 

सुनसरीको धरान रंगशालामा हुने समूह ‘ए’को राष्ट्रिय जागृति र आरटीसी बीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

हिजो दोस्रो क्वाटरफाइनलमा भारतको यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले हराएको हो । 

धरान फुटबल क्लबले रजत महोत्सवको रुपमा आयोजना गरेको गोल्डकपमा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ र विधागत उत्कृष्टले जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।