खेलकुद

चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश

- अर्जुन सुवेदीसुनसरी

चर्च ब्वाइज युनाइटेड क्लब २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानको आरटिसी फुटबल क्लबलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । 

चर्च ब्वाइजको जीतमा समिर तामाङ र विदेशी खेलाडी अर्माण्ड भिदोङले ह्याट्रिक गरे । 

समिर तामाङले खेलको २१, ५६ र ८५ औं मिनेटमा गोल गर्दा अर्माण्डले खेलको २७, ५० र ५२ औं मिनेटमा गोल गरेका थिए । 

यस्तै, चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा १ गोल गरे । 

प्रतियोगिता अन्तर्गत भोली हुने दोस्रो सेमिफाइनलमा काठमाडौंको एनआरटी क्लब र भारतको युकेएफसीबीच प्रतिस्पर्धा हुनेछ ।

 प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।