आहा–रारा गोल्डकपः संकटालाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश
- पोखरादुई पटकको विजेता संकटा क्लवलाई हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
संकटा क्लबलाई आज ३–१ ले पराजित गर्दै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो । शुरुवाती अग्रता जोगाउन नसक्दा संकटा पहिलो खेलबाटै बाहिरियो । मनिष पौडेलको गोलमा संकटाले खेलको १६ औं मिनेटमा अग्रता लिएको थियो ।
थन्डरबोल्टले ३४ औं, ७७ औं र खेल सकिनु एक मिनेट अघि गोल गर्दै जित हात पारेको हो । थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ । उज्वेकिस्तानको टोलीले सोझै क्वाटरफाइनल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा भोलि नेपाल पुलिस क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।