खेलकुद

बुढासुब्बा गोल्डकपको उपाधिको लागि एनआरटी र चर्च ब्वाइज भिड्ने

- अर्जुन सुवेदीसुनसरी

साविक विजेता एनआरटीले बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । 

दुवै कप्तान र प्रशिक्षकले एकअर्कासँग परिचित भएकाले कमजोर नआँक्ने बताए । सुनसरीको धरान रंगशालामा हुने फाइनल खेल दिउँसो तीन बजेपछि सुरु हुनेछ । एनआरटीले दोस्रो सेमिफाइनलमा युनाईटेड खर्साङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भने पहिलो सेमिफाइनलमा भुटानको आरटीसी एफसीलाई हराएर उपाधि यात्रा तय गरेको हो । एन्फाले प्रतियोगिता जुधाएकै कारण एनआरटी र चर्च ब्वाइजका केही खेलाडीको धरान–पोखरा–धरान दौडधुपको कारण उत्कृष्ट प्रदर्शनमा भने केही कमी आउने दुवै टिमका प्रशिक्षकले बताएका छन् ।

एनआरटी यस सिजनमा ४ प्रतियोगितामा सहभागी भइसकेकाले पनि बुढासुब्बाको फाइनलमा चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्न सहज हुने प्रशिक्षक श्याम मालीले बताउनुभयो । राष्ट्रिय खेलाडी अञ्जन विष्टलाई पोखराबाट धरान झिकाउने तयारी गरिएको उहाँको भनाई छ ।

विगतका कमी कमजोरी सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले बताउनुभयो । जारी सिजनमा चार प्रतियोगिताको फाइनल खेलिसकेको चर्च ब्वाइजले दुई फाइनलमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।  

एउटै क्लबबाट दुई टिम बनाएर आहा–रारा पोखरा गोल्डकपमा पनि सहभागी यी टिमबीचको उपाधि भिडन्त प्रतिस्पर्धात्मक हुने देखिएको छ । साविक विजेता एनआरटी उपाधिको संख्या बढाउन र इतिहास दोहोर्‍याउन सक्षम रहेको कप्तान सरोज तामाङको भनाई छ । 

यस्तै, पहिलो पटक फाइनल पुगेको चर्च ब्वाइज नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको कप्तान अनन्त तामाङले बताउनुभयो । गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।