२४ औं आहा–रारा पोखरा गोल्डकपः पुलिस सेमिफाइनल प्रवेश
- पोखरापाहुना टोली ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार कर्नरको सदुपयोग गर्दा सर्वाधिक उपाधि विजेता पुलिसले बेलायतको टोलीलाई घर फर्काएको हो ।
खेलको २८ औं मिनेटमा प्राप्त कर्नर पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गरे । उनको प्रहार ब्रिगेड ब्वाइजका खेलाडी रायन कुँवरको हेड हुँदै सेकेन्ड बारमा लाग्दै गोलमा परिणत भएको थियो । खेलको ४० औं मिनेटमा कप्तान राम वाजीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पाण्डेकै कर्नरमा उनले फ्रि हेडर गोल गरेका थिए । यसअघि पुलिस आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा हराएर क्वाटरफाइनल प्रवेश गरेको थियो । सहारालाई हराउने क्रममा उज्वल राईले कर्नरबाट नै गोल गरेका थिए । ब्रिगेड ब्वाइज भने सिधैं क्वाटरफाइनल प्रवेश गरेको थियो । खेलमा प्लेयर अफ द म्याच पुलिसका टिम कप्तान राम वाजी घोषित भएका छन् ।
गोल्डकपमा ६ पल्टको उपाधि विजेता पुलिस अब त्रिभुवन आर्मी र चर्च ब्वाइजबीच हुने क्वाटरफाइनलको विजेतासँग माघ ३० मा सेमिफाइनल खेल्ने छ । दोस्रो क्वाटरफाइनल खेल आइतबार थ्री स्टार क्लब र मछिन्द्रबीच हुने छ ।