शाइन रेसुंगा राष्ट्रिय टेन के रन फागुनमा
- तिलोत्तमारुपन्देहीको बुटवलस्थित शाइन रेसुंगा डेभलपमेण्ट बैंकले शाइन रेसुंगा राष्ट्रिय टेन के रन (१० हजार मिटर दौड) प्रतियोगिता गर्ने भएको छ । रन टू शाइन भन्ने नारासहित आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकले फागुन ११ मा दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा खुला, स्यानीय ५० वर्षसम्मका र स्थानीय ५० वर्ष भन्दा माथिका गरी ३ वटा विधामा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
राष्ट्रिय स्तरका धावक सहित स्थानीय धावक दौडने खुला प्रतियोगितामा प्रथम हुने महिला÷पुरुषका लागि जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो । त्यस्तै, द्धितीय हुनेले ४० हजार र तृतीय स्थान हांसिल गर्नेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सान्त्वनाका लागि १५ हजार तथा पाँचौं हुनेले जनही १०÷१० हजार रुपैयाँ पाउनेछन् । साथै स्थानीयको हौसला बढाउन ५० वर्षसम्म र ५० वर्षमाथि उमेर समूहका लागि गरिने ५ किलोमिटर दौडमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र सान्त्वनाले २ हजार ५ सय रुपैयाँ पाउने पौडेले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा गर्न लागिएको दौड आम मानिसको स्वास्थ्य सचेतनाका लागि भएको पौडेलको भनाई छ । ‘हामी ग्राहकको साथ पाएर राजधानी बाहिर मुख्य कार्यालय सञ्चालन गर्न सफल एक मात्र बैक हौं,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थ जीवनशैलीका लागि यो दौड गर्न लागेका हौं ।’
दौड प्रतियोगिता पहिलो सुरुवात भएपनि देशभरिमै १० हजार मिटर दौडमा १ लाख रुपैयाँ पुरस्कार राशि राख्ने आफूहरु पहिलो भएको पौडेलले उल्लेख गर्नुभयो । प्रतियोगितालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न बैंकले तयारी तीब्र पारेको उहाँको भनाई छ ।
विगत १६ वर्षदेखि वित्तीय क्षेत्रबाट सेवा पु¥याईरहेको शाइन बैंकले वृक्षारोपण कार्यक्रम मार्फत १७ हजार बढी बिरुवा रोपेको र यसपटक सामाजिक उत्तरदायित्व स्वरुप खेललाई जोडेको जनाएको छ ।
प्रतियोगितामा भाग लिनका लागि इच्छुक धावकले शाइन रेसुंगा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाईटमा गई नाम दर्ता गर्न सक्नेछन् । बैंकले प्रतियोगितामा २ हजार धावक दौडाउने लक्ष्य राखेको छ । त्यसका लागि ट्राफिक प्रहरीको कार्यालय स्थानीय पालिका र संघसंस्थासँग समन्वय गरिने पौडेलले बताउनुभयो ।