रुपन्देही सुपर लिगको उपाधि वेस्टर्नलाई
- तिलोत्तमारुपन्देही सुपर लिग क्रिकेटको २३ औं संस्करणको उपाधि वेष्टर्न क्रिकेट क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रो पटक सुपर लिगको उपाधि हात पारेको हो ।
उपाधिसँगै वेष्टर्नले नगद १ लाख १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरको खेलमा ४० ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २५ रनको बलियो योगफल तयार पारेको थियो ।
उसका लागि नरेन साउदले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै, देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रनको योगदान दिए । बलिङमा लुम्बिनी खुकुरीका अजय कुमार चौहानले ५, भुवन कार्कीले २ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरी ३८ ओभरमा १ सय ८६ रन बनाउँदा अलआउट भयो । उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजय कुमार चौहानले १० रन बनाए ।
बलिङमा वेष्टर्नका नरेन साउदले सर्वाधिक ४, देव खनाल र सुझाव थापाले समान २–२ तथा सन्देश थापाले १ विकेट लिए । फाइनलमा अलराउण्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा वेष्टर्नका देव खनाल म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ पाए ।
त्यस्तै, वेष्टर्नका अभिशेष गौतम बेष्ट बलर, न्यू होराइजनका निश्चल ज्ञवाली बेष्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।