खेलकुद

आहा-रारा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स भिड्दै

- दीपक परियारपोखरा

आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको उपाधिका लागि नेपाल पुलिस क्ब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । 

पोखरा रंगशालमा पुलिस र पाहुना टोली ब्ल्याक बुल्स एफसीबीचको उपाधि भिडन्त दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । पुलिस क्लबको ७ औंपल्ट च्याम्पियन बनेर अर्को कीर्तिमान रच्ने योजनामा छ । ब्ल्याक बुल्स पनि ६ पल्टको च्याम्पियन पुलिसलाई हराएर उपाधि उचाल्ने दाउमा छ । 

प्रशिक्षक चेतन घिमिरे ब्ल्याक बुल्स शारीरिक र प्राविधिक रूपमा राम्रो टिम रहे पनि फाइनलमा जुध्न आफूहरू मानसिक तयार भएको बताउनुभयो । शुक्रबार प्रि म्याच कन्फेरेन्समा उहाँले पछिल्लो ९ महिना पुलिसले एकसाथ प्रशिक्षण गरेको फाइदा पुलिसलाई रहेको बताउनुभयो ।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिज निशोनबाएभ फाइनल खेलमा सधैं ५०–५० कै सम्भावना हुने बताउनुभयो । ब्ल्याक बुल्सले फाइनल जिते प्रतियोगिताले नयाँ च्याम्पियन पाउने छ । विभागीय टिम पुलिस अपराजित रहँदै ११ औं पल्ट आहा–रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको हो । 

आहा–रारा पोखरा गोल्डकपको सर्वाधिक ६ पल्टको उपाधि विजेता पुलिसले पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराएको थियो । 

६ पटकको उपाधि विजेता र ५ पटकको उपविजेता पुलिसले लगातार तीन पटक जितेर ह्याट्रिक गरिसकेको छ । पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा उपाधि जितेको थियो । 

पहिलोपल्ट नेपालमा खेल्न आएको ब्ल्याक बुल्स एफसीले पाँच पल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै गोल्डकपको फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–० गोलले पराजित गर्दै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । 

प्रतियोगितामा नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लबले सर्वाधिक ६–६ पटक र थ्रीस्टारले ५ पटक उपाधि जितेका छन् । तीन विदेशीसहित १२ टोली सहभागी भएको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।