उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
- काठमाडौंआहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
फाइनलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उसले उपाधि हात पारेको हो । ४० औं मिनेटमा अग्रता लिएको ब्ल्याक बुल्सले ५९ औं मिनेटमा दोस्रो गोल गरेको थियो भने ६६ औं मिनेटमा गोल थप्दै ३–० को अग्रता बनाएको थियो ।
नेपाल पुलिसका लागि शिशिर चौधरीले ७४ औँ मिनेटमा एक गोल गरेका थिए । उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजार र उपविजेता पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँ जितेका छन् । आहा रारा गोल्डकप जित्ने ब्ल्याक बुल्स नवौं टोली हो ।
यसअघि पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६, थ्री स्टार क्लबले ५, संकटा क्लबले २ पटक तथा अफ्रिकन युनाइटेड, आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मीले एक÷एक पटक सो प्रतियोगिताको उपाधि जितेका थिए ।