फोर नेसन्स महिला च्याम्पियनसिप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास
- काठमाडौंकाठमाडौंमा भोली सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राष्ट्रिय महिला टोली तयार रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छन् । आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान सुब्बाले प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएको समेत बताइन् । ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी उनी माघ ३० मा नेपाल आइपुगेकी हुन् ।
कप्तान सुब्बाले यसअघि भएका गल्ती र कमजोरीहरु सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताएकी छन् । राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै खेलाडीहरु फिट रहेको बताए । नेपालले भोली आफ्नो पहिलो खेलमा कीर्तिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्र्तगतका खेलहरु राउन्ड रोबिन लिगका आधारमा खेलाइने छन् । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन १४ मा हुनेछ ।
फ्रान्सको शीर्ष श्रेणीको लिग खेल्दै आएकी राष्ट्रिय टिमका फरवार्ड सावित्रा भण्डारी प्रतियोगिताका लागि भोली बिहान नेपाल आइपुग्ने भएकी छन् । यसअघि युएईको अबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी फरवार्ड रेखा पौडेल हिजो नेपाल आएकी थिइन् ।