खेलकुद

बागमती गोल्डकपमा एपीएफको विजयी सुरुवात

- सुवास विडारीमकवानपुर

मकवानपुरमा जारी सशस्त्र प्रहरीको एपीएफ क्लबले सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

बागमती गाउँपालिका-४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा आइतबार भएको खेलमा एपीएफले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । 

अब एपीएफको भेट ‘ए’ डिभिजन टोली संकटासँग हुनेछ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत गरिएको थियो । 

पेनाल्टीमा एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले दुई वटा प्रहार रोक्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । 

टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल र मणि लामाको प्रहार गोलमा परिणत भएको थियो । भरतपुरका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक श्रेष्ठले बचाएका थिए । 

भरतपुरका विदेशी खेलाडी बफरको प्रहार आकाशिएसँगै सशस्त्रको जित सुनिश्चत भएको हो । प्रतियोगिता अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ ।