खेलकुद

फोर नेसन्स कप काठमाडौँमा आज सुरु हुँदै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालसहित चार राष्ट्र सम्मिलत अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगितामा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई समेटेर नेपाली महिला फुटबलमा यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछन् । 

फोर नेसन्स कपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कीर्गिस्तानबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगितामा सहभागी अन्य दुई टिम म्यानमार र लेबनानबीच दिउँसो २ बजे पहिलो खेल हुनेछ । 

नेपाल र कीर्गिस्तान ६ वर्षपछि आमनेसामने हुन लागेका हुन् । यसअघि नेपालले कीर्गिस्तानविरुद्ध खेलेको एक मात्र खेलमा ठूलोे अन्तरमा जित निकालेको थियो । त्यसैले पनि नेपाल घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । 

च्याम्पियिनसिपका लागि ग्रिसमा व्यवसायिक फुटबल खेलिरहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा र दुबईबाट फरवार्ड रेखा पौडेल फर्किएका छन् । फ्रान्सबाट सावित्रा भन्डारी आज बिहान काठमाडौं आइपुग्ने छिन् । 

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अहिले कीर्गिस्तानमा धेरै परिवर्तन भएको भन्दै कमजोर नआक्ने बताए । कप्तान एन्जिला भने यो प्रतियोगिता आफू जस्ता खेलाडीलाई ठूलो अवसर रहेको बताईन् । 

कीर्गिस्तानका मुख्य प्रशिक्षक नेमात्जाहन जाकिरोभले यो प्रतियोगिता आफ्ना खेलाडीका लागि एक्सपोजरको राम्रो अवसर भएको बताएका छन् । प्रतियोगितामा सहभागी चार मध्ये म्यानमार सबैभन्दा बलियो टिम हो । 

फिफा वरियतामा म्यानमार ५५, लेवनन १ सय ३४, कीर्गिस्तान १ सय २८ र नेपाल १ सय तीन स्थानमा छ । प्रतियोगिता अन्र्तगतका खेलहरु राउन्ड रोबिन लिगका आधारमा खेलाइने छन् । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन १४ मा हुनेछ ।