इटहरी गोल्डकपमा मच्छिन्द्र र झापा–११ भिड्ने
- इटहरीइटहरी गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
मच्छिन्द्र र झापा–११ बीचको खेल सुनसरीको इटहरी रंगशालामा आज दिउँसो ३ बजे सुरु हुनेछ । ‘ए डिभिजन’ क्लब मच्छिन्द्र आफ्नो पहिलो खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाउने योजनामा हुनेछ । झापा–११ पनि पहिलो जितको लक्ष्यमा हुनेछ ।
यसअघि हिजो भएको खेलमा सगरमाथा युथ क्लबले एनआरटीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । दोस्रो क्वाटरफाइनलमा सगरमाथाले एनआरटीलाई १–० गोलले हराएको थियो ।
गोल्डकपमा एक विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।