बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लियो
- काठमाडौंबार्सिलोना स्पेनिस ला लिगा फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले पाहुना टोली रायो भालेकानोलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो । लेवान्डोस्कीले खेलको २८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । यो हारसँगै लयमा रहेको रायोको १० खेलको अपराजित यात्रा टुंगिएको छ ।
यो नतिजासँगै लिग तालिकाको शीर्ष स्थानको बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ । रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले अंक गुमाएकोपछि बार्सिलोनालाई फाइदा पुगेको हो ।
रियल र एटलेटिको म्याड्रिड दुवैले पछिल्लो खेल पनि बराबरी खेलेका थिए । समान २४ खेल खेलेको रियल म्याड्रिडको पनि ५१ अंक छ । तर, गोल अन्तरका आधारमा बार्सिलोना अगाडि आएको हो ।
एट्लेटिको म्याड्रिड ५० अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । रायो भालेकानो भने ३५ अंकसहित छैटौं स्थानमा रह्यो ।