खेलकुद

इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा र मच्छिन्द्र भिड्ने

- रेडियो कान्तिपुर संवाददाताइटहरी

इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १५ संस्करणको उपाधिका भिडन्त आज हुने भएको छ । उपाधिका लागि मोरङको सगरमाथा युथ क्लबले काठमाडौंको मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने भएको छ । 

दुई पटकको विजेता सगरमाथा उच्च मनोबलसहित प्रदर्शन गर्ने लक्ष्यमा छ । फाइनल अघि हिजो भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल आफूहरुले जित्ने दाबी गरे । 

यसअघि लगातार दुई पटक प्रतियोगिताको उपाधि जितिसकेको सगरमाथाका कप्तान अशोक खवासले फेरि उपाधि जित्ने दाबी गरे । सगरमाथाले सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल तय गरेको हो ।

पहिलो पटक प्रतियोगितामा भाग लिएको ए डिभिजन क्लब मच्छिन्द्र पनि सगरमाथाको उपाधि यात्रामा ब्रेक लगाएर इतिहास रच्ने दाउमा छ । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले विपक्षी टिम राम्रो भए पनि उपाधि भने आफूहरुले जित्ने बताएका थिए । 

मच्छिन्द्रले सेमिफाइनलमा यूके एफसीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल इटहरी रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।