पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन
- काठमाडौंनेपाली फुटबल टोलीका प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा ५४ वर्षीया श्रेष्ठको आज बिहान निधन भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार अघिल्लो दिनमात्रै श्रेष्ठ गंगालाल अस्पतालबाट उपचारपछि घर फर्किनु भएको थियो । घरेलु फुटबलमा खेलाडी र प्रशिक्षकका रुपमा उहाँको ठूलो योगदान रहेको छ ।
नेपालका उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका श्रेष्ठले आफ्नो खेल जीवनको सुरुआत स्टार क्लबबाट गर्नु भएको थियो । उहाँले आरसीटी, एनआरटी र मनाङ मस्र्याङ्दीबाट क्लब फुटबल खेल्नु भएको थियो ।
यस्तै, श्रेष्ठले लामो समय महिलाको विभिन्न उमेर समूहको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकका रुपमा काम गर्नु भएको थियो । पछिल्लो समय उहाँ एनआरटीका प्रशिक्षक हुनुहुन्थ्यो ।
श्रेष्ठकै नेतृत्वमा एनआरटीले हालै सुनसरीमा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता खेलेको थियो । प्रतियोगिताका क्रममा धरानमा रहँदा उहाँलाई हृदयघात भएपछि काठमाडौं ल्याइएको थियो ।