आर्सनल वेस्ट ह्यामसँग स्तब्ध
- काठमाडौंइंग्लिस प्रिमियर लिग फुठबलको उपाधि होडमा आर्सनललाई धक्का लागेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको पछिल्लो खेलमा दश खेलाडीमा सीमित आर्सनललाई पाहुना टोली वेस्ट ह्यामले १–० गोलले पराजित गरेको हो ।
यो जितसँगै वेस्ट ह्यामले चार खेलको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । वेस्ट ह्यामको जितमा खेलको पहिलो हाफमा जारोड बोवेनले गरेको एक मात्र गोल निर्णायक रह्यो ।
बोवेनले खेलको ४४ औं मिनेटमा एरोन वान–बिसाकाको पासमा गोल गरेका थिए । इमिरेट्समा भएको खेलको ७३ औं मिनेटमा मेयलेस लेविस–स्केलीलाई रातो कार्ड देखाइएको थियो । यो हारपछि आर्सनल शीर्षको लिभरपुलसँग आठ अंकको दूरीमा रहेको छ ।
शीर्ष स्थानको लिभरपुलले २६ खेलबाट ६१ अंक जोडेको छ । समान २६ खेल खेलेको आर्सनल ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । वेस्ट ह्याम भने ३० अंकसहित तालिकाको १६ औं स्थानमा रह्यो ।
यस्तै, लिगको अर्को खेलमा एस्टन भिल्लाले चेल्सीलाई २–१ गोेलले पराजित गरेको छ । ब्राइटनले साउथह्याम्पटनलाई ४–०, टोटनहमले इपस्विच टाउनलाई ४–१, क्रिस्टल प्यालेसले फुलहमलाई २–० र उल्भ्सले बर्नमाउथलाई १–० ले हराएको हो । एभरटन र म्यानचेस्टर युनाइटेडबीचको खेल भने २–२ को बराबरीमा सकिएको थियो ।