केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल
- ललितपुरकाठमाडौंमा जारी तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान साढे ११ बजे आर्मी र पुलिस आमनेसामने हुनेछन् । दुबै टोली पहिलो जितको लक्ष्यमा हुनेछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा आयोजक केपी ओली एफसीले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने आयोजक र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । एक साता अघि मात्र पोखरामा सम्पन्न २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा पुगेको हो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।