खेलकुद

प्रिमियर लिगको उपाधिमाथि लिभरपुलको पकड बलियो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिमाथि आफ्नो पकड बलियो बनाएको छ । पछिल्लो खेलमा म्यानचेस्टर सिटीमाथि सहज जित हासिल गर्दै लिभरपुलले तालिकामा ११ अंकको अग्रता बनाएको छ । 

इतिहाद स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोली सिटीलाई २–० गोलले हराएको हो । खेलको १४ औं मिनेटमा मोहम्मद सलाहको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । 

डोमिनिक सबोसलाईले खेलको ३७ औं मिनेटमा अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई जोगाएसँगै लिभरपुल महत्वपूर्ण जित हासिल गर्न सफल भयो । 

यो नतिजापछि शीर्ष स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको आर्सनल ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान २६ खेलबाट ४७ अंकका साथ नटिङ्घम फरेस्ट तेस्रो स्थानमा रहेको छ ।

लिगको अर्को खेलमा न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई ४–३ गोलले पराजित गरेको छ ।