खेलकुद

केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

काठमाडौंमा जारी तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विभागीय टोली एपीएफले संकटा क्लबको सामना गर्ने भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान साढे ११ बजे एपीएफ र संकटा आमनेसामने हुनेछन् । दुबै टोली पहिलो जितको लक्ष्यमा हुनेछ । आजको खेलको विजेताले अन्तिम चारमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र एफसीले पाहुना टोली भुटानको ट्रान्सपोर्ट युनाइटेडको सामना गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने मच्छिन्द्र र ट्रान्सपोर्ट युनाइटेड बीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लबले पुलिस क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा आयोजक केपी ओली एफसीले एनआरटीलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।