खेलकुद

सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप सुरु

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सूर्य नेपाल गल्फ टूर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा आज सुरु हुँदैछ । चार दिनसम्म चल्ने ७२ होलको प्रतिस्पर्धामा ३० प्रोफेसनल र १० एमेच्योर गरी कुल ४० गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन् । 

नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीसँगै यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, रवि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ । 

प्रो गल्फरलाई नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले कडा चुनौती दिने सम्भावना छ । ३६ होलको समाप्तीमा कट लागू हुनेछ । शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

शीर्ष २१ स्थानसम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्ने नेपाल प्रोफेसनल गल्फ एसोसिएसन (एनपीजीए) का महासचिव दिपक आचार्यले बताए । 

नेपाल प्रोफेसनल गल्फ एसोसिएसन एनपीजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले खेलको स्तर निरन्तर सुधार भइरहेको र यसवर्ष एमेच्योर तथा प्रोफेसनल दुवै खेलाडीको प्रदर्शन रोमाञ्चक रहेको बताए । साथै उनले खेलकुदको निरन्तर प्रायोजनका लागि सूर्य नेपाल प्रालि प्रति आभार व्यक्त गरे ।