भद्रपुर झापा गोल्डकप : झापा-११ ले भुटानी टोलीको सामना गर्दै
- झापाभद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा झापा–११ एफसीले पाहुना टोली भुटानको डागा युनाइटेड फुटबल क्लबको सामना गर्नेछ ।
भद्रपुरस्थित मेची रंगशालामा दिउँसो साढे २ बजे झापा–११ र भुटानको टोली आमनेसामने हुनेछन् । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा–११ ले भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको हो ।
भुटानी टिमले चौंथो क्वाटरफाइनल खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । आजको खेलको विजेताले उपाधिका लागि आयोजक टोली भद्रपुर ब्लेजर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल पर्सि शुक्रबार हुनेछ । यसैबीच, आयोजक टोली भद्रपुर ब्लेजर्स प्रतियोगिताको उपाधि नजिक पुगेको छ । हिजो भएको पहिलो सेमिफाइनलमा बंगलादेशको टोली काउर्न बाजार प्रगति संघलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि यात्रा तय गरेको हो ।