केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक र मच्छिन्द्र भिड्ने
- काठमाडौंकेपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक टिम केपी ओली एफसीले साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजक र ए डिभिजन क्लब मच्छिन्द्र साँझ ५ बजे आमनेसामने हुनेछन् ।
साविक विजेता मच्छिन्द्रले भुटानको ट्रान्सफोर्ट युनाइटेडलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो । आयोजक टोलीले भने न्युरोड टिम एनआरटीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । आजको खेलको विजेताले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि त्रिभुवन आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि यात्रा तय गरिसकेको छ । फाइनल खेल पर्सि सोमबार हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । केपी ओली एफसी र मच्छिन्द्र एफसीबीचको खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।