खेलकुद

सुनगाभा सैनामैना गोल्डकप फागुन १९ देखि

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको सैनामैनामा फागुन १९ गतेदेखि सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सैनामैना नगरपालिका–४ स्थित सैनामैना बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगिता पालिकाको संरक्षकत्व तथा मुर्गिया फुटबल क्लबको आयोजनामा हुने भएको हो । 

फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन, विभागीय, एक विदेशी सहित १० क्लबले भाग लिने क्लबका अध्यक्ष प्रवीण भारीले बताउनुभयो । प्रतियोगितामा विजेता टिमले ७ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै उपविजेताले ४ लाख पाउने छन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई समेत नगद, कपबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

सैनामैना नगरपालिकाले खेल सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष भारीले जानकारी दिनुभयो । प्रतियोगितामा खेलाडीका लागि १ लाखसम्मको बीमा गरिएको आयोजक क्लबका अध्यक्ष भारीको भनाई छ । प्रतियोगितामा एक हजार रुपैयाँको सिजनल टिकटबाट ९ दिन नै खेल हेर्न पाउने व्यवस्था मिलाइएको छ । 

अवलोकनमा ७० वर्षमाथि, अपाङता भएका नागरिकलाई निः शुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७९ देखि निर्माण सुरु भएको सो रंगशालामा ८० प्रतिशत काम सम्पन्न भएको वडा नम्बर–४ का अध्यक्ष राम प्रसाद अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार संघीय सरकार, प्रदेश सरकारको सहयोगमा ८ करोड लागतमा निर्माण भएको रंगशालामा ५ सय जना अट्ने स्थायी प्याराफिट रहेको र खेल अवधिका लागि २ हजार जना बस्न मिल्ने प्याराफिट बनाइएको अधिकारीले जानकारी दिनुभयो ।