च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्दै
- काठमाडौंआईसीसी च्याम्पियन्स ट्रफी एक दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा विश्व क्रिकेट वरीयताका दुई शीर्ष टोली भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।
संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । फाइनल पुग्नका लागि हुने भारत र अस्ट्रेलियाबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
आयोजक पाकिस्तान भएपनि खेल भने दुबईमा हुने भएको हो । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि आफ्ना सबै खेल दुबईमा खेलेको हो ।
भारत समूह ‘ए’ को विजेता तथा अस्ट्रेलिया समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । दुवै टोली यस प्रतियोगितामा अपराजित छन् । अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो ।
भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो ।
आईसीसी टुर्नामेन्टको नकआउटमा दुवै टिमको यो भेट नवौं पटक हो । यसअघि पहिले भएका भिडन्तमा दुवै टिमले ४/४ जित निकालेका छन् । सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा दुवै टिमको अन्तिम भेट थियो ।
विश्वकप फाइनलमा भारतलाई उसकै मैदानमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो । आजको खेललाई भारतले सो हारको बदला लिने मौकाका रुपमा पनि हेरिएको छ ।