विराट गोल्डकपमा आर्मी र मोरङ–११ बीच प्रतिस्पर्धा हुने
- विराटनगरविराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलको खेल आजबाट सुरु हुने भएको छ । पहिलो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले रिजालको मोरङ–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरको शहिद रंगशालामा आर्मी र मोरङ–११ साँझ साढे ६ बजे आमनेसामने हुनेछन् । दुबै टोली अन्तिम चारमा स्थान बनाउने लक्ष्यमा हुनेछ । यसअघि हिजो भएको खेलमा विभागीय टोली एपीएफ क्लबले पाहुना टोली दिल्ली फुटबल क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ ।
एपीएफले दिल्ली फुटबल क्लबलाई टाईब्रेकरमा ५–३ गोलले हराएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरवाट निर्णय भएको थियो ।
प्रतियोगितामा नेपालका ८ र भारतका दुई गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले जनाएको छ ।