खेलकुद

विराट गोल्डकपको पहिलो सेमिफाइनलमा आर्मी र थ्रीस्टार भिड्दै

- रेडियो कान्तिपुर संवाददाताविराटनगर

रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरणको खेल आज सुरु हुने भएको छ । पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले थ्रीस्टार क्लबको सामना गर्नेछ । 

विराटनगरस्थित सहिद रंगशालामा हुने आर्मी र थ्रीस्टारबीचको पहिलो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ । थ्री स्टार क्लबले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र एफसीलाई हराएर अन्तिम चारमा स्थान बनाएको छ । आर्मीले भने घरेलु टोली मोरङ–११ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा एनआरटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले अन्तिम चारमा स्थान बनाएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशको लागि भोलि विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

साथै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, र दैनिक खेलको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । अघिल्लो संस्करणको उपाधि मोरङ–११ एफसीले जितेको थियो ।