खेलकुद

भारतलाई च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

भारतले अपराजित रहँदै च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । भारतले मिनी विश्वकप मानिएको प्रतियोगिताको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । 

संयुक्त अरब इमिरेट्को दुबईमा भएको फाइनलमा जितका लागि लागि २ सय ५२ रनको लक्ष्य पाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर त्यसलाई आत्मसात गरेको हो । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको हो । 

केएल राहुलले ३४ र रविन्द्र जडेजाले नटआउट ९ रन बनाउँदै भारतलाई जितसम्म पु¥याए । उपाधि जित्ने क्रममा भारत अपराजित रहने एक्लो टिम रह्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । 

शुभमन गिलले ३१ रन जोडे । यस्तै, श्रेयश अय्यरले ४८ र अक्षर पटेलले २९ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये माइकल ब्रेसवल र मिचेल सान्टनरले दुई दुई विकेट हात पारे ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । त्यसमा ड्यारेल मिचेल र माइकल ब्रेसवेलले अर्धशतक बनाए । मिचेलले सर्वाधिक ६३ रन बनाए । ब्रेसवेल भने ५३ रन बनाएर नटआउट रहे । भारतका लागि वरुण र कुलदीप यादवले समान दुई÷दुई विकेट लिए ।